नमोबुद्ध । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नगरको आदेशलाई अवज्ञ गर्ने ईंट्टा भट्टा बन्द गर्न चेतावनी दिएका छन् ।

आईतबार काभ्रेको नमोबुद्ध नगरपालिकाको नगरको पाँचौ स्थापना दिवस तथा नयाँ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले यस्तो चेतावनी दिएका हुन् ।

‘नमोबुद्ध नगरपालिका आफै सफा थियो, तर अचेल धुवाँका कारण विहान ९ बजे पनि घाम नलाग्दो रहेछ ।’ मन्त्री बाँस्कोटाले भने, ‘बस्तीको बीचमा र्इंट्टा भट्टा हुनै सक्दैन । हाम्रो विकासको परिकल्पना भित्र यस्तो हुन सक्दैन ।’ सरकारले उद्योगको लागि विकल्पको रुपमा पाँचखालमा औद्योगिक क्षेत्र बनाउन लागेको उनले बताए ।

५ वर्ष भित्र खानेपानीको समस्या समाधान

नमोबुद्ध नगरपालिकाको मुख्य समस्या खानेपानी समस्या रहेको बताउँदै मन्त्री बाँस्कोटाले यहाँको खानेपानी समस्या ५ वर्ष भित्रमा समाधान गर्ने बताए । ‘यहाँको सबैभन्दा ठूलो समस्या खानेपानी समस्या हो ।’ उनले भने, ‘आउँदो ५ वर्ष भित्र यहाँको खानेपानीको समस्या समाधान गर्ने छौं । निश्चिन्त हुनुहोस् ।’

भवन निर्माणमा पहिलो भएकोमा बधाई

देशै भरिमा १४ वटा नगरपालिका भवन निर्माणको योजना रहेकोमा नमोबुद्ध नगरपालिकाको भवन निर्माण सबैभन्दा पहिला सम्पन्न भएकोमा मन्त्री बाँस्कोटाले बधाई समेत दिए । यो देश निर्माणको प्रक्रियामा अघि बढेको उदाहरण रहेको पनि चर्चा गरे । ‘देश बदल्छ, बदल्नका लागि कुरा गरिरहेका छैनौं । काम गर्दैछौं ।’ उनले भने, ‘१४ वटा नगर भवन निर्माणको लागि योजना बनेकोमा यो नगरपालिकाले सबैभन्दा पहिला सम्पन्न गरेको छ ।’

विकासको लक्ष ‘प्लानेट र पिपुल’को रक्षा

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले विकासको एउटै लक्ष मात्र ‘प्लानेट र पिपुल’को रक्षा रहेको बताए । ‘प्लानेट र पिपुललाई ध्वस्त बनाएर परिकल्पना गरिने विकास, आम्दानी, सम्बृद्धि केही व्यक्तिहरुलाई मात्र हुनसक्छ । सिंगो समुदायलाई हुनै सक्दैन ।’ उनले भने, ‘त्यसको हामीले रक्षा गर्नु छ ।’

तेमालबेसीको क्रसरलाई कार्वाही गर्न प्रशासनलाई निर्देशन

तेमाल बेसीको बगरमा रहेको क्रसरलाई तुरुन्त कार्वाही गर्न मन्त्री बाँस्कोटाले कार्वाही गर्न प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिएका छन् ।

‘तेमाल बेसीमा मैले भिडियो खिचेर आएको छु । त्यहाँ कोशीको बगर कस्को हो जनताको हो ।’ उनले भने, ‘बीचमा क्रसर राखिएको छ र हामी आँखा चिम्लेर बसेका छौं । यो हुन सक्दैन । तत्काल कार्वाहीको प्रक्रिया अगाडि बढाउनु पर्दछ ।’

रोशी खोला दिन प्रतिदिन ध्वस्त हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री बाँस्कोटाले रोशी संरक्षण परियोजना शुरु गर्न लागेको बताए ।

भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।