काभ्रे । प्रतिनिधि सभा सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले यो वर्ष सिलान्यास र उद्घाटनको वर्ष हुने उद्घोष गरेका छन् ।
आइतबार नमोबुद्ध नगरपालिकाको नवनिर्मित कार्यालय उद्घाटन तथा पाँचौं नगर स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले उक्त उद्घोष गरेका हुन् ।
‘हिजो मात्र मैले गुम्बा उद्घाटन गरें आज नगरपालिकाका कार्यालय भवन उद्घाटन गरेका छौं ।’ बमध्वजले भने, ‘अब यो वर्ष सिलान्यास र उद्घाटनको वर्ष हुनेछ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले समृद्धिका किरणहरु जनताको बीचमा आएको चर्चा गर्दै प्रतिपक्षले सरकार छैन भन्नु गलत भएको बताए । समृद्धिका क्षितिज टाढा भएपनि आफूहरुले जनताको आँगनमा ल्याउने प्रयत्न गरिरहेको स्पष्ट पारे ।
वर्तमान सरकारप्रति प्रतिपक्षले गरेको विरोधको कुनै तुक नभएको भन्दै उनले आफूहरुले शासन गर्दाका अवस्थालाई फर्केर हेर्न सुझाव दिए ।
‘हामीले प्रतिपक्षको विरोधलाई सकारात्मक रुपमा लिएका छौं । सुझाव र सल्लाहको रुपमा ग्रहण गरेका छौं ।’ उनले भने, ‘हामीले हिजो शासन गर्दा गरेका काम पनि हेरेका छौं । बुझेका छौं । एक चोटी फर्केर हेर्ने प्रयत्न गर्न अनुरोध छ ।’






















