काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष चार नेताले नियम मिचेको भन्दै सचिवालयको बैठक बहिष्कार गरेका छन् ।

यस अघि समयको पालना गर्नुपर्ने नियम एजेण्ड कै रुपमा पारित गरपनि शनिबार बस्ने बैठकमा त्यो नियम अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव विष्णु पौडेलले पालना नगरेपछि उनीहरुले बैठक बहिष्कार गरेका हुन् ।

तोकिएको समय सकिएको १५ मिनेटसम्म पनि प्रधानमन्त्री उपस्थित नभएपछि बैठक बहिष्कार गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी एकिकरणका बाँकी कामको टुंगो लगाउने लगायतका विषयमा छलफलका लागि सचिवालयको बैठक बोलाइएको थियो ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलसमेत बैठक कक्षमा नदेखिएपछि वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र बामदेव गौतम बालुवाटारबाट बाहिरिएका थिए ।

‘हामीले पहिल्यै नै हरेक बैठक समयमै गर्ने नियम बनाएका थियौं, यसपटक बैठकका लागि तोकिएको समयभन्दा १५ मिनेट पर्खदा पनि बैठक सुरु भएन’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसपछि हामी हिँडेका हौं ।’

आफैले बनाएको नियमलाई कार्यन्वयन गर्न आफूहरु बैठक कक्षबाट निस्किएका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला