इट्टा भट्टा माथि नमोबुद्ध नगरपालिकाले चलाउला त डोजर ?

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका स्थित भकुण्डेमा रहेको इट्टा भट्टा उद्योगहरु नविकरण नगर्न मन्त्रालयले निर्देशन दिएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मापदण्ड पूरा नभएको भट्टाहरु नविकरण नगर्न पत्रचार गरेरै यस्तो निर्देशन दिएको हो ।

ईंट्टा भट्टा नविकरणको सम्बन्धमा नगरपालिकाले मन्त्रालयको निर्देशन पालना गरेपनि उद्योगहरुले भने अवज्ञा गर्दै आाएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रविधि महाशाखाले २०७५ साल जेठ २० गते नै घरेलु तथा साना उद्योग विभाग त्रिपुरेश्वरलाई पत्र लेखि नेपाल सरकारबाट स्विकृत मापदण्ड पूरा गरेका ईट्टा उद्योगको मात्र इजाजत नविकरण गर्न आदेश दिएको छ ।

मिति २०७५ साल जेठ १४ गतेको मन्त्री स्तरको बैठकबाट ‘ईट्टा भट्टा नविकरण गर्दा स्थानीय तहको कार्यपालिकाको बैठकको निर्णयबाट भएको सिफारिश मात्र गर्न घरेलु विभाग तथा समितिलाई लेखि पठाउने निर्णय गरेको थियो ।
साथै वातावरण विभागबाट अनुगमन गर्दा कुनै ईट्टा भट्टा उद्योगले नेपाल सरकारबाट स्विकृत मापदण्ड पालना नगरेको पाईएमा सो पालना गरेको व्यहोराको प्रमाणपत्र नआएसम्म यस्ता उद्योग नविकरण नगर्ने व्यवस्था मिलाउन घरेलु तथा साना उद्योग विभागलाई लेखि पठाउने निर्णय भएको थियो ।

सो पश्चात मन्त्रालयले पत्र संख्या ०७४र७५, चलानी नं. २१४ बाट घरेलु तथा साना उद्योग विभागलाई गत जेठ २० गते नै परिपत्र गरिसकेको थियो । उक्त पत्र विभागमा दर्ता नं. २१६० मा मिति २०७५।२।२५ गते नै दर्ता भई इजाजत विभागमा कार्यान्वयनमा गएको छ ।

यो निर्णय प्रदेश नं. ३ लगायतका २४ जिल्लामा लागु हुने क्रममा छ भने चितवन जिल्लामा मापदण्ड विपरितका भट्टा स्थानीय सरकारले भत्काइसकेको छ । वातावरण विभागले नमोबुद्ध नगरपालिकामा रहेका ८ वटा भट्टा सहित काभ्रे जिल्लाका कुनै पनि ईट्टा भट्टाले मापदण्ड पूरा नगरेको व्यहोराको पत्र स्थानीय तहमा दिइसकेको छ ।

मापदण्ड पूरा गर्ने व्यवसायीको दावी

मन्त्रालयको उक्त व्यवस्थालाई बेवास्था गर्दै व्यवयासीहरूले भटाभट ईट्टा पार्ने कार्य अघि बढाएका छन् । एक व्यवसायीका अनुसार मापदण्ड पूरा गर्न आवश्यक कार्यहरू अगाडी बढाउन लागिएको छ । केहिले भट्टा भत्काएर नयाँ बनाउन लागेका छन् । तर पनि काभ्रे जिल्लाका धेरै ठाउँमा भट्टा सञ्चालनका लागि मापदण्ड पुरा हुने अवस्था छैन ।

उता केही व्यवसायीहरू भने पैसाले किनेरै भएपनि पुरानै शैलीमा भट्टा सञ्चालनमा ल्याउने दावी गर्न आएका छन् । नमोबुद्ध नगरपालिकाले कुनै पनि हालतमा गलत प्रक्रियाबाट भट्टा सञ्चालन गर्न नदिने अडान लिएको छ ।

नमोबुद्ध नगरपालिका मात्र नभई देशभरीका ५४ जिल्लाका व्यवसायी मन्त्रालयको यो निर्णयको विरुद्धमा लागेको बुझिएको छ । मन्त्रालयको यो व्यवस्थालाई नै फेल गराउन अनेक जुक्ति निकाल्दै व्यवसायीहरू मापदण्ड पूरा नगरी भट्टा सञ्चालनमा ल्याउने खेलमा लागेको स्रोतले बताएको छ ।

यसैगरी बनेपा नगरपालिका वडा नं. १० मा बस्तीको बिचमा ईट्टा भट्टा सञ्चालनमा रहेको छ । मापदण्ड पूरा नगरी स्थापना भएको उक्त भट्टाका कारण स्थानीय पीडित भएको भन्दै सञ्चालकहरूसँग भट्टा हटाउन पटक पटक आग्रह गरेपनि टेरेका छैनन् । मापदण्ड विपरित सञ्चालनमा रहेको उक्त भट्टा हटाउन बनेपा नगरपालिकाले कुनै चासो दिएको छैन । भट्टाको धुवाँ र धुलोका कारण स्थानीयको स्वास्थ्यमा गम्भिर असर पर्ने भन्दै स्थानीयले भट्टा हटाउन आग्रह गरेका थिए ।

यस्तो थियो मन्त्रालयका पत्र

काभ्रेको भकुण्डेमा रहेको ईंट्टा भट्टा नविकरण नगर्न मन्त्रालयको निर्देशन

Comments

comments