प्रादेशिक सांसद ढकालले कोशीपारीका जनतासँग भने, ‘खबरदारी गर्नुहोस्’

२८ मंसिर २०७५
काभ्रे । काभ्रे जिल्ला क्षेत्र नं. १ (क)बाट निर्वाचित प्रादेशिक सांसद रत्न ढकालले जनप्रतिनिधिहरुलाई सधैं खबरदारी गर्न अनुरोध गरेका छन् ।

स्वर्णिम सरस्वती युवा क्लब चौरिदेउरली–४, काभ्रेले आयोजना गरेको ६ मासिक रचनात्मक कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद ढकालले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले खेलकुद राष्ट्र निर्माणको लागि महत्वपूर्ण क्षेत्र भएकोले यसको समग्र विकासको लागि आफू सधैं लाग्ने प्रतिबद्धता जनाए । ‘राष्ट्र निर्माणको महत्वपूर्ण क्षेत्र खेल हो ।’ उनले भने, खेलकुद क्षेत्रलाई अगाडि बढाउन र विकास गर्न म सधैं तपाईंहरुको साथमा हुनेछु ।’

आफूहरु निर्वाचित भएको एक वर्ष वितिसकेको बताउँदै यो बीचमा निर्वाचित भएपछि नेताहरु गाउँ गाउँमा नआएको हल्ला गरेको उनले बताए । ‘नेताहरु कता गयो भन्ने प्रश्न हिजोको हो अहिलेको होइन । अहिले जनताको आँगनमा नेताहरु छन् ।’ उनले भने, ‘यो सरकारले गरेको असल काम पचाउन गाह्रो हुनेहरुले गरेको हल्ला मात्र हो ।’

सरकारले केही नगरेको भन्ने हल्ला गर्नेहरुलाई इंगित गर्दै उनले कोशीपारी सबै सडक पिचको प्रकृयामा रहेको बताए । उनले प्रश्न गरे, ‘के यो उपल्ब्धी होइनन् ?’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।