काठमडौं – सातादेखि बढेको चिसोका कारण अस्पतालहरुमा चिसोका बिरामी बढेका छन्। उनीहरुमा दम, ब्रोकेंल आज्मा, टन्सिल, निमोनियाँ, रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेलगायतका रोग देखिएको अस्पतालका चिकित्सकले जनाएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।
वीर अस्पताल मेडिकल विभागका अनुसार दैनिक उपचारमा आउने बिरामीमध्ये ५० प्रतिशत चिसोका छन्। उनीहरुमध्ये दम भएका वृद्ध–वृद्धाहरु चिसोकै कारण जटिल बनेपछि आकस्मिक कक्षबाट अस्पताल भर्ना भएर उपचार हुने गरेको वीर अस्पताल मेडिकल विभागका फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठले बताए।
चिसोका कारण बिरामी बढेर दैनिक पाँच वृद्ध–वृद्धा आकस्मिक कक्षमा भर्ना हुन आएको सिभिल अस्पतालले जनाएको छ। श्वास–प्रश्वासका बिरामीहरुले भने रोग जटिल बनेपछि अस्पतालका बहिरंग विभागमा उपचार गर्ने गरेको चिकित्सकले जनााएका छन्। चिसो बढ्दै जाँदा अन्य रोगका बिरामी घटेको र श्वास–प्रश्वासका बिरामी मात्र बढिरहेको सिभिल अस्पताल आकस्मिक कक्षका प्रमुख डा. दिनेशकुमार लम्सालले बताए।






















