काभ्रे । सरसफाईको पहिलो खुड्किलाको रुपमा रहेको खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने कामले काभ्रेमा तिब्रता पाएको छ । यसैबीच शुक्रबार (आज) एक कार्यक्रमका बीच काभ्रेको पनौति नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद् गंगा बहादुर दोङ (बमध्वज)ले नगरवासीलाई खुल्ला ठाउँमा दिसा नगर्ने प्रतिवद्धता सहितको सपथ खुवाएसँगै यो नगर खुल्ला दिसा मुक्त नगरको रुपमा घोषणा भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले खुल्ला ठाउँमा दिसा नगर्ने प्रतिबद्धता सहितको सपथा खाएकोले अब नगरबासीले यसलाई व्यबहारमा लागु गर्नेपर्ने बताए । ‘अब सफा, स्वच्छ नगरको रुपमा विकास गर्न यो पहिलो काम हो ।’ बमध्वजले भने, ‘पनौति नगरपालिकामा धार्मिक पर्यटन, कृषि पर्यटनका साथै सबै खाले समृद्धिका काममा यो कामले ठूलो टेवा पुग्ने छ ।’

त्यसैगरि पुर्व सभासद् एवं नेकपाका नेता रामहरी सुवेदीले ऐतिहासिक महत्व बोकेको पनौतीको मकर मेला र विश्व सम्पदामा सुचिकृत हुने क्रममा रहेकोले पनौती क्षेत्रमा खुल्ला दिशामुक्त नगरको घोषणासँगै पर्यटकको संख्यामा वृद्धि हुने बताए ।
पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले नगरपालिकालाई पुर्ण सरसफाई युक्त नगर बनाउन नगरपालिकाले अभियान नै सुरु गर्ने बताएका छन् ।

कार्यक्रममा प्रदेश सभा सांसद चन्द्र लामा, बसुन्धारा हुमागाईं, जिल्ला समन्वय अधिकारी कोमल धमला, पनौती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजयराज पौडेल, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका वास अफिसर रामकाजी काफ्ले, पनौती नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी लगायतले खुल्ला दिसा मुक्त नगर घोषणाको महत्व, औचित्य र फाईदाकोबारेमा विचार राखेका थिए ।

पनौती नगरपालिकामा ११ हजार ६ सय घरधुरी रहेकोमा ९ हजार ७ सय ६५ पक्की शौचालय, १ हजार ८ सय १८ कच्ची र ९९ वटा सामुहिक शौचालय रहेको कार्यक्रममा जानकारी गराएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न संघसस्थाका प्रतिनिधिहरु लगायत नगरवासीको उपस्थिती रहेको थियो ।






















