दाङ दुर्घटना : मृतक २२ जना मध्ये ५ जनाको सनाखत

काठमाडौं । घोराहीस्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको बा.४ख ९७६६ नम्बरको बस शुक्रबार दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । जसमा ४ महिला र १८ पुरुष छन्  । १५ घाइते भएका छन् । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरेर फर्किने क्रममा शुक्रबार अपराह्न ५ बजे तुल्सीपुर–३ राम्रीमा बस भिरबाट खसेर दुर्घटना भएको हो ।

बस दुर्घटनाका परी २२ जनाको मृत्यु भएको छ । जसमध्ये अहिलेसम्म जम्मा  ५ जना मृतकहरुको सनाखत भएको छ ।दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दुर्घटनामा परी ज्यान गुमाउने मध्ये ५ जनाको पहिचान खुलेको बताए ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं १७ का २८ वर्षीय प्रदिप घिमिरे,  बसका चालक घोराही-३ का मदन केसी, पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दाङको दंगीशरण गाउँपालिका वडा नं १ का ३० वर्षीय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का २७ वर्षीय विजय जीको ज्यान गएको छ । मृत्यु हुने र घाइते हुने सवै घोराही-१७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुन् ।

घाइते सवैलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहपुर बाँके रिफर गरिएको छ ।उनीहरुको कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरि ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।