काभ्रे । जिल्लाको रोशी गाउँपालिकाले तामाङ समुदायको महान साँस्कृतिक पर्व सोनाम ल्होछारमा ३ दिन विदा दिने घोषणा गरेको छ । गाउँ कार्यपालिकाको आज (सोमबार) बसेको बैठकले उक्त निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष डि.बी. लामाका अनुसार आगामी माघ २१, २२ र २३ गते विदा दिने निर्णय गरेको छ । ‘गाउँपालिका भित्रको सबै सरकारी निकाय र शैक्षिक संस्थाहरुलाई विदा दिने निर्णय आजको गाउँकार्यपालिका बैठकले गरेको छ ।’ अध्यक्ष लामाले तेमाल अनलाइनसँग भने, ‘आगामी माघ २१, २२ र २३ गते गाउँपालिका भरि सबै निकायमा विदा दिने निर्णय गरेको हो ।’
७० प्रतिशत भन्दा बढी तामाङ समुदाय रहेको रोशी गाउँपालिकामा सोनाम ल्होछारलाई उत्सबको रुपमा मनाउने भएकोले विदा दिएको उनको भनाई छ । ‘राज्यको नजरमा सबै पर्व समान हुन् । कसैलाई काख र कसैलाई पाख गर्न मिल्दैन ।’ अध्यक्ष लामाले भने, ‘सबै धर्म, सँस्कृति, पर्व राज्यको नजरमा समान हुन् र समान व्यवहार गर्नुपर्छ त्यसैले यो विदाको व्यवस्था गरेका हौं ।’






















