
(युवा जोश र जाँगर, राजनीतिमा अब्बल मान्छे, त्यति मात्र होइन जनताको मुटुको ढुकढुकी हुन् रविन मोक्तान । महाभारत गाउँपालिका वडा नं.५, चाउडिकमा जन्मिएका मोक्तान ५ नं. वडाको वडाध्यक्ष समेत हुन् । पिता विचारमान मोक्तान र माता कुशल माया मोक्तानको कोखबाट २०४४ साल पौष ९ गते चाउडिकमा जन्मेका उनी महाभारत गाउँपालिकाको प्रवक्ता समेत हुन् । श्रीमति, छोरी, बुवा, आम, ५ दाजु भाइ र ४ दिदीबहिनी मध्येका कान्छो हुन् ।
शिक्षक देखि राजनीतिज्ञसम्म को यात्रा
बि.सं.२०६१ मा पन्चकन्य मा.बि वाल्टिङ्बाट एसएलसी परिक्षा पास गर्दै पाटन क्याम्पसबाट २०६७ सालमा बीए पास र लगत्तै एक बर्ष पछि सानोठिमी क्याम्पसबाट एक बर्से बीएड पास गरेका थिए । बिगत लामो समय खानिखोला लघु जलविद्युतको सचिव, डाँडापारी युबा मञ्च नेपालको सस्थापक अध्यक्ष तथा चाउडिक कफी उत्पादक सहकारी सस्थाको सस्थापक अध्यक्ष भइ काम गरेका छन् ।
साथै सबिक बुढाखानी गाबिस गाउँ बाल संरक्षण समितिको संयोजक रहि लामो समय काम गरेको उनमा अनभव छ । गाउमै रहेको श्री गौरी प्रा.बि.लाई निमावि बनाएपछि करिब ५ बर्ष यस विद्यालयमा अध्यापन समेत गरेका थिए । स्थानीय तहको निर्वाचनमा शिक्षक पेशा छोडेर उनी वडा अध्यक्षको उम्मेदवार बनेका थिए ।
मोक्तानको राजनीतिक यात्रा
अनेरास्वबियु(क्रान्तिकारी) पाटन क्याम्पस .प्रा.क.को पहिलो इकाईको सदस्य, २०६२ साल साबिक बुढाखानी गाउँ कमिटीको सचिव, हुँदै २०६४ साल देखि पार्टी अध्यक्षको भुमिकामा काम गर्दै २०७४ सालदेखि ५ न वडा कमिटीको इन्चार्ज एवं गाउँपालिकाको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दै आएका मोक्तान स्थानीयत तहको निर्वाचनमा विजय भएका थिए । प्रस्तुत छ तेमाल अनलाईनले लिएको अन्तर्वार्ता ।)
० निर्वाचनमा जनतासँग केके प्रतिबद्धता जाहेर गर्नु भएको थियो ?
–निर्वाचनमा जनतालाई एउटा वडा अध्यक्षको हैसियतले कानुन बमोजिम गर्न सक्ने वडाको भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा र सचेतना अभिबृद्धि, उत्पादन तथा रोजगारीलाई टेवा पुग्ने खालका तालिम, पुननिर्माणमा सहजिकरण, सुशासन र पारदर्शिताको कुराहरु नै मुख्य रुपमा उठाइएको थियो ।
० पूरा भयो त त्यो बाचा ?
–निर्वाचनमा हामीले मुख्यत शिक्षा, स्वास्थ र यातायात लगायत उत्पादनसँग जोडिएका कुराहरू गरेका थियौं । त्यस मध्ये हाल सम्म केही पूरा हुने क्रममा छ भने केही कामको सुरुवात भएको छ ।
० कहिले पूरा हुन्छ त ?
–ती सबै प्रतिबद्धताहरु पाँच वर्षका लागि थिए । बाँकी साढे तीन वर्षमा सबै योजना पूरा गर्न रणनीतिक कार्ययोजना निर्माण गरी अगाडि बढी रहेका छौं ।

० वडाध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
– जनताको विकास, सुशासन, प्रतिको अभिलाषा तिब्र छ । हामी ती अभिलाषालाई सम्मान गर्दै क्रमश पूरा गर्न लागि लागिरहेका छौं । हाम्रा सामु चुनौतीहरु पनि प्रशस्त छन् । हामी त्यस्ता जनप्रतिनिधिहरु थियौं जो निर्वाचित भएर बस्ने वडा कार्यालय त परै जाओस एउटा कोठा पनि थिएन । आफूले बस्ने कुर्सी मात्र होइन एउटा फाईल र फाईल राख्ने दराज मात्र होइन एउटा कलम पनि आफैले किन्नु पर्ने अबस्था थियो ।
कार्यालय व्यबस्थापन गर्दै आफ्ना योजनाहरु अगाडि बढीरहेका छ । जस अन्तर्गत ग्रामोन्नती मा.बि. मा ११ कक्षा संचालन, एडीभी को आर्थिक सहयोग रहने रु ७ करोडको बिद्यालय भवनको सम्झौता सम्पन्न, वडामा रहेको ६ वटा बिध्यालयमा सानो–ठुलो गरि ७ वटा भवन निर्माण सम्पन्न, वडामा ३ वटा नयाँ शिक्षक दरबन्दी थपिएको, ५ नं. वडाम सामुदायिक स्वास्थ इकाईको स्थापना ब्यवस्थापन, चारकिल्ला वर्थिङ सेन्टरको ब्यवस्थापन, वडामा कतै सडक नभएको र हाल महत्वपूर्ण वस्तीहरु चारकिल्ला, गुराँसे, घुडे, गोपे लगायतमा सडकको पहुँच पुगेको छ भने अन्य बस्तिहरु भलडाँडा, चाउडिक, बेतेनी र टुनिबास लगायत गाउँमा यसै बर्ष सडक पु¥याउने योजनामा छ ।
त्यसैगरी हामिले जितेसँगै प्रत्येक घरमा १र१ थान सानो सोलार र वडा कार्यलयमा १२ सय वाटको सोलार निशुल्क ल्यायौ । वडालाइ खुल्ला दिशा मुक्त बनाउन शौचालय नभएको करिब १ सय ४४ घरमा प्यान पाइप र १ र १ बोरा सिमेन्ट बितरण गरियो । साथै अन्य उत्पादन र जनजीवनसँग जोडिएको विषयहरु पनि भैरहेको छ ।

० जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो रहेछ ?
-जनप्रतिनिधि र सामान्य नागरिक भएर काम गर्नुमा पक्कै पनि धेरै अन्तर हुँदा रहेछ । जिम्मेवारीको हिसाबले अहिले अलि बढी हो नै । साथै सबैको सबै खालको समस्या आउने र राम्रोसँग बुझेर मात्रै समाधान गर्नुपर्ने भएकोले अलि गाह्रो चाहिँ छ ।
० विकास निर्माणमा जनताको सहभागिता कस्तो छ ?
-हामी निर्वाचित भएर यहाँसम्म आउँदा प्रत्यक्ष अप्रत्यक्ष रूपमा आम नागरिकको बिकास निर्माणमा राम्रै सहयोग र सहभागीता रहेको पाइएको छ ।
० यहाँको वडामा मुख्य समस्या के रहेको छ ?
–यस वडाको मुख्य समस्या भनेको मोटरबाटो, खानेपानी र उत्पादनलाई ब्यवस्थापन गर्नु हो ।
० तपाईंको वडामा २०७२ सालको भुकम्पबाट पिडित भएकाहरुको अबस्था कस्तो रहेको छ ?
–मेरो वडाको केही घर बाहेक प्रायःघर पुननिर्माणमा परेका छन् । जस अन्तर्गत जम्मा लाभग्राही ३ सय ६१ मा पहिलो किस्ता लिने ३ सय ५८ जना, दिश्रो किस्ता लिने ३ सय जना र तेश्रो किस्ता लिने २ सय ५१ जना रहेका छन् । यसको मतलब वडामा पुनर्निर्माणको काम राम्रो छ जस्तो लाग्छ ।

० वडामा गरिब, बेरोजगार र सीमान्तकृत वर्ग पनि छन, उनीहरुको जीवनस्तरमा कसरी सुधार ल्याउनु हुन्छ ?
–हामी अहिले उत्पादन र आम्दानीसँग जोडिएका कुरा बिकासका पुर्बाधार निर्माणमा मुख्य रूपमा लागिरहेका छौं । अब यी कुरा सँगै जनताको आम्दानी बढाउने कुरामा लाग्ने अबको हाम्रो काम हुनेछ ।
० तपाईंको कार्यकाल भित्रमा वडालाई कस्तो वडा बनाउने सपना देख्नु भएको छ ?
–हामीसँग अहिले थुप्रै खालको चुनौतीहरु पनि छन् । तापनि समग्रमा भन्नुपर्दा मेरो कार्यकालमा वडालाई कम्तीमा बाह्रै महिना चल्ने सडक, शिक्षामा गुणस्तर वृद्धि, आधारभुत खानेपानी, उत्पादन र रोजगारीमा वृद्धि गर्ने योजनामा छु ।
० अन्त्यमा वडाबासीलाई के भन्न चाहानुहुन्छ ?
–अन्त्यमा वडाबासी दाजुभाई तथा दिदी बहिनीहरुलाई के भन्न चाहन्छु भने संविधानको कार्यन्वयनसँगै हामीले हाम्रो वडामा समृद्धिको जग हाल्दै छौं । हामी एउटा परिवर्तन सँगै नयाँ परिवेशमा प्रवेश गर्दैछौं । यसो हुँदा हामीले गरेको कामहरू पक्कै पनि नयाँ हुनसक्छन् । तसर्थ हामीले गरेको गलत कामको समयमा नै आलोचना गर्नहुन र सहि काममा सकेको सहयोग गरिदिनहुन साथै अनुरोध गर्न चाहन्छु ।
जिज्ञासा लागेको कुनैपनि विषयमा कुनैपनी समयमा सिधा सम्पर्क गर्नुहुन सबैमा अनुरोध गर्दै आफ्नो लोकप्रिय अनलाईन पत्रिका तेमाल अनलाईन डटकमलाई धन्यवाद । मेरो कुरा राख्ने सुनौलो अवसर दिनु भयो त्यसको लागि हार्दिक आभार प्रकट गर्दै धेरै–धरै धन्यबाद व्यक्त गर्दछु ।






















