काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताएका छन्।
इसाइ धर्मावलम्बीहरुको प्रमुख चाड ‘क्रिसमस डे’का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको स्मरण गराएका छन्।
‘सनातनकालदेखि बहुसङ्ख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्बन गर्नेहरूले आ–आफ्नो आस्था अनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रतासमेत सुनिश्चित गरिएको छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।
प्रधानमन्त्री ओलीले ‘क्रिसमस डे’का अवसरमा इसाइ धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।






















