सुर्य मोक्तान
काठमाडौ । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहोन गोलेले नेपाल तामाङ राष्ट्रिय घेदुङलाई कार्यगत एकताका लागि प्रस्ताव गर्नु भएको छ । अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलनबाट नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा बधाई दिनका लागि राष्ट्रिय तामाङ घेदुङले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सो प्रस्ताव गर्नु भएको हो ।

यसै क्रममा नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीर बहादुर योञ्जनले विगतमा भएका कमिकमजोरीलाई सुधार गर्दै विधान सम्मत एकता हुने हो भने आफू र आफ्नो संस्था नेपाल राष्ट्रिय तामाङ घेदुङ एकता हुन तयार रहेको बताउनु भएको छ ।
गत मंसिर २८, २९ र पौष १ गते भारतको मिरिकमा सम्पन्न अन्तराष्ट्रिय तामाङ परिषदको चौथो ऐतिहासिक सम्मेलनमा राष्ट्रिय घेदुङका महासचिव प्रविण बलले फरक मत सहितको भनाई प्रस्तुत गरे पश्चात विश्वभर रहेका तामाङ समूदायले दुई धारमा रहेको घेदुङ एकताका लागि दबाब सृजना गरेको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टशी लामा, महासचिव तथा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहोन गोले, सचिवहरु कुमार ब्लोन, रविन थिङ, बहराईन तामाङ सेवा समाजका अध्यक्ष तथा परिषदका उपाध्यक्ष सोनाम दोङ र जापान तामाङ समाजका प्रतिनिधि तथा परिषदकै उपाध्यक्ष अश्मिता वाईबा लगाएतलाई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा प्रमुखअथिति भूतपूर्व क्याप्टेन तथा राजनीतिज्ञ एवं समाजसेवी देव कुमार लामा (डि.के. बुद्धिष्ट) र बिषेश अथिति ३ न. प्रदेश सांसद हिमाली गोले लगाएतले अन्तराष्ट्रिय तामाङ परिषदका नवर्निवाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनु भएको थियो साथै कार्यक्रममा ताप्लेजुङका क्यान्सर पिडित चन्द्रकला तामाङलाई राष्ट्रिय घेदुङले प्रबासबाट सङ्कलित २०००००/(दुई लाख) रुपैयाँ सहयोग पनि हस्तान्तरण गरिएको थियो।






















