सुसन सापकोटा (विज्ञान)
काभ्रे । महिनावारीलाई सुरक्षीत व्यवस्थापन गर्न काभ्रेको चौरीदेउरालिमा विद्यालयमा अध्ययनरत किशोरीहरुलाइ सनेटरी प्याड निर्माण सम्बन्धि तालिम संचालन गरिएको छ ।
चौरीदेउराली गाउँपालिकाको समन्वय तथा आर्थिक सहयोग तथा वाटरएडको आर्थिक सहयोगमा चौरीदेउराली गाउँपालिकामा एकीकृत शहरी विकास केन्द्रद्वारा संचालित समुदायमा आधारित उत्थानशिल एवं दिगो खानेपानी सरसफाइ एवं स्वच्छता परियोजना अन्तर्गत उक्त तालिम संचालन गरिएको हो ।

महिनावारी स्वच्छ्ता व्यवस्थापन सम्बन्धि अभिमुखिकरण संचालन पश्चात प्रदान गरिएको तालिमले भविष्यमा महिनावारीकै कारण विद्यालय छाड्नुपर्ने बाध्यता किशोरीहरुमा नरहोस र महिनावारीलाइ सुरक्षित तरिकाले व्यवस्थापन गर्न सहज होस भन्ने उद्देश्यले तालिम संचालन गरिएको हो । साथै भविष्यमा स्थानियस्तरमा किशोरीहरुले सस्तो मुल्यमा प्याड किन्न सक्ने वातावरण सिर्जना गर्न यो तालिम प्रदान गरिएको सँस्थाका चौरीदेउराली संयोजक शिव प्रसाद लामिछानेले बताउनुभयो ।

महिनावारीलाई सुरक्षीत तरिकाले व्यवस्थापन गर्न नसक्दा महिनामा पाँच देखि सात दिन किशोरीहरु विद्यालय अनुपस्थित हुने गरेको बताउदै यस्ता महिनावारी स्वच्छ्ता व्यवस्थापन सम्बन्धी क्रियाकलापमा सबै किशोरीहरुलाइ सहभागी गराउनुपर्ने समेत बताउनुभयो ।
तालिम चौरीदेउराली गाउँपालिका वडा न.५ स्थित जागृती मा.वि. तथा अरनिको मा.वि. मा अध्ययनरत किशोरीलाई प्रदान गरिएको थियो ।






















