दूरसंचार प्राधिकरणका अध्यक्ष झाद्वारा राजीनामा

काठमाडौं अन्तत: सत्तासीन नेकपाभित्रकै विवाद र आलोचनापछि नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बुधबार राजीनामा दिएका छन्।

झाले संचारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिएको उच्च सरकारी स्रोतले जानकारी दिएको छ।

नियुक्ति नाटकीय शैलीमा भएको अध्यक्ष झाको बिदाई पनि त्यही शैलीमा हुन पुगेको छ। बुधबार नै झाले पत्रकार सम्मेलन गरेर आफूलाई भ्रष्टाचारी प्रमाणित गरिसकेपछि मात्रै राजीनामा दिने बताएका थिए। तर उनी त्यो भनाइमा केही घण्टा पनि उभिन सकेनन्।

ओली सरकारको आगमनसँगै पूर्ववर्ती देउवा सरकारले निर्वाचन घोषणायता गरेका नियुक्ति खारेज गर्दै प्राधिकरणको अध्यक्षबाट झालाई हटाएको थियो। त्यसलगत्तै झा आफ्नो बर्खास्तगी गैरकानुनी भन्दै सर्वोच्च गएको थिए। सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ नहुँदै उनले रिट फिर्ता लिएका थिए। त्यस बखत राजनीतिक पेलाइमा परेर झालाई रिट फिर्ता लिन लगाइएको आरोप सरकारमाथि लागेको थियो।

यस प्रकरणमा रमाइलो त यो भयो कि उनै झालाई ओली सरकारले सोही पदमा नियुक्त गर्‍यो। यो प्रकरणमा सरकारको सर्वत्र आलोचना भएको थियो।

झाकै छविका विषयलाई लिएर सरकारको नेतृत्वकर्ता दल नेकपाका ४३ केन्द्रीय सदस्यले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले झाको नियुक्ति बदर गर्न माग गरेका थिए। नेकपा स्थायी कमिटीकै बैठकमा झाको नियुक्तिप्रति नेताहरूले आपत्ति जनाएका थिए।

सरकारले औपचारिक रूपमा राजीनामाबारे जानकारी नदिए पनि ज्ञापनपत्र बुझाउनेमध्ये एक केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सामाजिक संजालमार्फत् राजीनामा दिएको खुलाएकी छन्। बुधबार साँझको उनको ट्विटमा भनिएको छ, ‘सरकारले एउटा नयाँ आशा देखायो, भ्रष्ट दिगम्बर झाको नियुक्ति खारेज गर्न सरकारलाई निर्देशन दिन पार्टीको स्थायी कमिटीलाई हामीहरू ४३ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका थियौँ। उनलाई सरकारले राजीनामा गरायो।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।