-
प्रतीक तामाङ
मान्छेदेखि मान्छे तर्सिनुपर्ने एउटा गजबको परिस्थितिको सामना गर्दैछ आजको मानवजाति यो क्षणमा । सम्भवतः मानवजातिको इतिहासमा यो अनौठो घटना हो । ढोकाबाहिर निस्कन पनि अनुमति छैन । आफ्नै घरभित्र कैदीझंै एक्लाएक्लै थुनिएर बस्नुपर्ने । कुनै ठूलै अपराध गरेर लुक्नुपरेझैं । कोरोना कहरको ताण्डव कहिले कसरी थामिने हो टुङ्गो छैन । यसले अझै कुन रूप र रङ ग्रहण गर्ने हो भन्न सकिने स्थिति छैन । धर्तीका मानवजातिको अस्तित्वलाई नै नामेट पार्न लम्किरहेको कोरोनालाई परास्त गर्न मानवजातिको ज्ञान र विज्ञानलाई कति समय लाग्ने हो यो पनि यकिन छैन । लाखौं मानिसको ज्यान निलिसकेको कोरोना भाइरसको भूतदेखि तर्सिएर विश्वका आधाभन्दा बढी मानिस लकडाउनमा आफ्ना सम्पूर्ण गतिविधि ‘लक’ गरिबसेका छन् ।
लकडाउन लम्बिने सङ्केत छ । कामधन्दा सबै ठप्प छ । वातावरणमा दिउँसै सन्नाटा छाएको छ । दैनिक ज्याला मजदुरी गरी कमाई खानेहरूका लागि अहिले हुनसम्मको सकस भएको छ । कतिपयको सपना भाँचेको छ । चुल्हो बलेको छैन । भविष्य बेठेगान छ । जसोतसो बिहानको छाक टार्यो बेलुका समस्या, बेलुकाको छाक टार्यो फेरि बिहान समस्या । यो वर्गको जिन्दगी कष्टकर दैनिकीको घानमा पिल्सिरहेको छ । हातमा सुको नपरेपछि हातमुख जोर्नैको समस्याले पिरोलिरहेको छ । एकाएक विलखबन्दमा परेका छन् । कोरोना भाइरसको पीडा कस्तो हुन्छ थाहा छैन, तर उनीहरूको परिवारले अहिले सिर्जित पीडाको राम्रै अनुभूति गरिरहेको छ । जिन्दगी औंसीको रातमा अनकन्टार बाटोमा छामछुम गरी जबर्जस्ती हिँड्नु परेजस्तो भएको छ ।
लकडाउन बाध्यात्मक परिस्थतिको उपज । महामारीबाट नागरिककै सुरक्षाका लागि अपनाइएको विशेष उपाय । तर यसले गरिब, असहाय, अशक्त, विपन्न, असङ्गठित मजदुर वर्गको जीवन झनै असुरक्षाको भूमरिमा धकेलिदिएको छ । आखिर भोको पेटै बाँच्नु र कोरोना सङ्क्रमणको सिकार हुनुमा अन्तर नै के होला र ? तिनको रोजगारी खोसिएको छ । दैनिक कमाएर परिवारको गुजारा चलाउने योजना भताभङ्ग भएको छ । आम्दानी सुकेपछि सहरबजमार रहेकाहरूको भएको डेरा पनि गुमेको छ । गाँसबासकै टुङ्गो नभएपछि कहालीलाग्दो परिस्थिति उभिएको छ । लकडाउन लम्बिँदै गएपछि सहर, बजार र सदरमुकाममा थुनिएकाहरू हप्तौंदिन पैदलै हिँडेर गाउँमा पुगिरहेका छन् । लकडाउनको यो घडीमा असङ्गठित मजदुरहरू सबैभन्दा चर्को मारमा परेका छन् ।
यो विपदका बेला राहतका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्था र राजनीतिक दलहरूको सक्रियता बढेको छ । मानवीय भावनाले सहयोग गर्नेहरू जुट्नु सुखद् पक्ष नै हो । मानवीय भावना र व्यवहार प्रदर्शन गर्ने यस्तै बेला हो । सङ्कटमा परेकाहरूको उद्धार गर्नु सबैभन्दा उच्चकोटीको धर्म हो । तर राहत वास्तवमा पीडित वर्गकै हातमा पुग्नुपर्छ । त्यो पनि समयमा पुग्नुपर्छ । विभिन्न मिडियामा छाइरहेको राहत वितरणका दृष्यहरूले भने यस्तो सन्देश दिइरहेको छैन ।
कतै राहत वितरणमा ढिलासुस्ती भइरहेको छ । कतै हुनेखाने सम्पन्न परिवारले पनि पटक्कै अप्ठेरो नमानेर राहत थापिरहेका छन् अनि कतै पहुँचवालाले कुम्ल्याएका छन् । विपन्न, असहाय, अशक्त परिवारका लागि भनेर मापदण्ड निर्धारण गरिएपनि हुबहु लागू गर्न गराउन सकिरहेको देखिँदैन । यसमा राहत वितरण प्रक्रिया पारदर्शी र एकद्वार प्रणाली बनाउन स्थानीय सरकारहरूले विशेष पहल गर्नुपर्ने देखिएको छ ।
गाउँटोलमा दलबलका साथ राहतका लागि पुग्नेहरूको लर्को छ । यो महामारी बाढीपहिरोमा परी बिचल्ली भएको, महाभूकम्प गएको, आगलागीमा सबैचीज ध्वस्त भएकोजस्तो होइन । सामाजिक दुरी कायम राख्नु नै लकडाउनको मुख्य उद्देश्य हो । राहतको वहानामा मानिसहरूको विशेष चहलपहल हुँदा भाइरसको सङ्क्रमणको खतरा निम्तिन सक्छ भन्ने हेक्का राख्नु आवश्यक छ । यसकारण पनि यो बेला राहत वितरणको सबै प्रक्रियामा स्थानीय सरकारकै हस्तक्षेपकारी भूमिका र नेतृत्व हुनु आवश्यक छ । उसको नियन्त्रण र अनुगमन हुनैपर्छ । यसैपनि स्थानीय सरकार अहिलेको सन्दर्भमा नागरिकका लागि सबैभन्दा नजिकको सरकार हो ।
अहिले जुन गतिमा राहत वितरणको काम भइरहेको छ, यसमा केही हतार भएको पनि देखिन्छ । माथि उल्लेख गरिएका वास्तविक पीडितहरूलाई राहत दिइनुपर्छ, त्यसमा कुनै सवाल खडा हुने कुरै भएन । तर गाउँ गाउँमा, टोलटोलमा, कतिपय वडावडामा मानिसहरू भटाभट राहत ओसारिरहेका छन् । तँछाडमछाड गर्दै कतिपय बस्तीमा सबैलाई राहत दिइएको छ । सस्तो लोकप्रियताका लागि संस्थाका पदाधिकारी, पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधिको नामै फलाकेर हस्तान्तरणको तस्बीर खिच्ने, सामाजिक सञ्जालमा प्रचार गर्ने र आफूलाई सहयोगी, दाता, दानीका रूपमा चित्रण गर्न मरिहत्ते गरिरहेका छन् ।
कोरोना प्रकोपले चौतर्फी असर पार्ने निश्चित छ । सबैभन्दा ठूलो चिन्ता विश्वतन्त्र नै थला पर्ने भएपछि त्यसको प्रत्यक्ष असर हाम्रो जीवनमा पर्ने पक्का छ । कोरोना कहरले यतिखेर हाम्रो दैनिकी मात्रै नभएर वार्षिकीसमेत खल्बलिएको छ । घरबाट निस्फिक्रीका साथ बाहिर निस्कन नपाएपछि कृषि क्षेत्रमा पनि नराम्ररी धक्का परेको छ । पाकेको अन्नबाली उठाउन नपाउँदा, नयाँ बाली लगाउन नपाउँदा किसानहरू चिन्ताले छटपटिरहेका छन् । कोरोना तगारो बनेर उभिदिएको छ । संसारभरको अवस्था उस्तै हो । अझै कति दिन यस्तो अवस्था कायम रहन्छ भन्ने निश्चित नभएकाले वर्षदिन खान जोहो गर्न सकिने स्थिति देखिँदैन । उत्पादनमा स्वतः कमी आउने नै छ ।
खाद्यान्न आयातनिर्यातमा व्यापक तलमाथि हुने भएकाले आफूसँग नगद भएपनि बजारमा खरिद गर्न उपलब्ध हुने छैन । हाम्रा कृषिमन्त्रीले पनि निकट भविष्यमै भोकमरीको सम्भावना रहेको बताइसकेका छन् । यसबाट आमरूपमा राहत वितरण गर्नैपर्ने दिन आउने सम्भावना टड्कारो देखिन्छ । अहिले लहडमा लागेर जथाभावी राहत वितरण गर्दा भोलि चाहेर पनि केही गर्न नसकिने हुन सक्छ । महिनौंदिन भोकभोकै बस्नुपर्ने स्थिति नआउला भन्न सकिन्न । यसर्थ जहाँसुकै जसले पायो त्यसले मनपरी पाराले राहत वितरण गर्नुको कुनै अर्थ छैन । यस्ता अनावश्यक गतिविधिलाई तत्काल रोक्नुपर्छ । परिस्थितिको यो गम्भीरतालाई सबैले बुझ्नु जरुरी छ ।
कतिपय व्यापारीहरू यही मौकामा गलत फाइदा उठाउन पल्केका देखिन्छन् । गोदाममा कुहिएको, सडेगलेको दाल चामललगायतका खाद्य सामग्री राहतको नाममा बिकाइरहेका छन् । यो त सामाजिक अपराध नै हो । भ्रष्टाचारीहरू तलदेखि माथिसम्म सेटिङ मिलाएर यति संवेदनशील स्थितिमा पनि नाफाका लागि जे पनि गर्न अघि सरिरहेका छन् । राहतमा पनि राजनीति छिराएर नागरिकको पीडामा फाइदा लिन चाहनेहरू पनि उत्तिकै देखिन्छन् ।
धर्ती काँपिरहेको छ । सिङ्गै पृथ्वीमा कोलाहल मच्चिरहेको छ । विश्व मानवजगत शोकमा चुर्लुम्मै डुबेको छ । मानिस एक्लाएक्लै मृत्युको सिकार बनिरहेको छ । अन्तिम संस्कारका लागि आफन्तको साथ पाउनसमेत असमर्थ छ । साँच्चिकै यत्तिखेर मानिसको सामाजिक प्राणी हुनुको परिचय खोसिएको छ । हेर्दाहेर्दै मान्छेहरू लासमा परिणत भइरहेको बेला, आफ्नै आफन्तको अन्त्येष्टिसमेत गर्न नपाएर छटपटाइरहेको बेला, लासका चाङहरू एउटै खाल्डोमा पुरिरहेको दृष्य आँखै अगाडि नाचिरहेका बेला, जीवन जोगाउन भागदौड मच्चिरहेको बेला पनि मान्छे कसरी स्वार्थी बन्न सक्दारहेछन् ? आफ्नो स्वार्थका लागि अरूको जीवनमाथि खेलवाड गर्न सक्दारहेछन् । नाफानोक्सानको हिसाबकिताबमा मग्न रहन सक्दारहेछन् ? धेरैलाई उदेक लाग्न सक्छ । तर यी केही मानिसको चर्तिकलाकै आधारमा आजको मानिसले सबैभन्दा चेतनशील, विवेकशील र सर्वश्रेष्ठ प्राणीको परिचय पनि गुमाइसकेको निष्कर्ष निकाल्न पनि कहाँ मिल्छ र ?
यो पनि पढ्नुहोस्ः
अगुवाको अभिव्यक्ति र अपेक्षा -प्रतीक ङेसुर तामाङ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















