अञ्जली तामाङ, ६ फागुन २०७७
धुलिखेल । भूमि सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति काभ्रेको कार्यालय उद्घाटन भएको छ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आज एक कार्यक्रमका बीच आयोगको कार्यालय उद्घाटन गरेका हुन् ।
यससँगै आयोगले काभ्रेमा औपचारिक रुपमा कार्य सम्पादन शुरु गरेको छ । आजै आयोगल अभिमुखिकरण कार्यक्रम समेत गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री बाँस्कोटाले जनतालाई भूमिको मालिक बनाउने सरकारको योजना भएकोले पक्ष विपक्षमा नलागी न्यायोचित कार्य गर्न भूमि आयोगका सदस्यहरुलाई निर्देशन दिए । आयोगलाई अब अलमल गर्न छूट समेत नभएको बताए । ‘सबै नागरिकलाई भुमिको मालिक बनाउने सरकारको नीति छ ।’ बाँस्कोटाले भने, ‘पक्ष विपक्षमा नलागी न्यायपुर्ण काम गर्न म आयोगलाई अनुरोध गर्दछु । वर्षौंंदेखीको समस्या समाधान हुन लागेको भन्दै उनले कुनै बहानामा काममा अलमल गर्ने छुट आयोगलाई छैन ।’
कार्यक्रममा भूमि आयोगका नवनियुक्त जिल्ला अध्यक्ष रामकृष्ण हुमागाँइले संविधान र आयोगको अधिकार क्षेत्रभित्र रहेर काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
भूमी आयोग काभ्रेमा अध्यक्षमा हुमागाईंलाई नियुक्ति गरेको छ भने विज्ञ सदस्य जेनिस लामा र सदस्य अम्बिका हमाललाई नियुक्ति गरेको थियो ।
कार्यक्रममा आयोगको केन्द्रिय सदस्य तथा वागमती प्रदेश संयोजक केशव देवकोटा, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतका सहभागीता रहेको थियो ।
यो पनि पढ्नुहोस्
काभ्रेमा भूमि आयोगः तामाङ हेर्याहेरै, हुमागाईं अध्यक्ष
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















